काठमाडौं- सहरको पूर्वी ढोका कोटेश्वरदेखि १० किलोमिटर पूर्व सूर्यविनायक, त्यहाँबाट ४ किलोमिटर दक्षिण आइतबारेडाँडा। राजधानीबाट २० मिनेटको ‘ड्राइभ’मा पुगिने यो ठाउँबाट आकाश खुलेको दिन पूर्व सगरमाथादेखि पश्चिम धवलागिरीसम्मका हिमाल देखिन्छन्। काठमाडौं र भक्तपुर
जिल्लाका सबै सहर, बस्ती, गाउँठाउँ, डाँडापाखा पनि छर्लंगै।
यही डाँडाको १२ रोपनी क्षेत्रफलमा फैलिएको छ- प्रस्तावित हिमालयन योग एन्ड मेडिटेसन सेन्टर। निर्माण पूरा भइसकेर सुरु हुनुअघिका सानातिना काम चल्दै गरेको यो ध्यानकेन्द्र अर्को साता औपचारिक रूपमा खुल्दैछ। काठमाडौं उपत्यकामा ध्यान र अध्यात्म अभ्यास गर्न यति ठूलो क्षेत्रफलमा फैलिएको सम्भवतः यो तेस्रो गन्तव्य हुनेछ, नागार्जुनको ओशो तपोवन र बुढानिलकन्ठको विपश्यना केन्द्रपछि। अध्यात्म र ध्यानलाई चाहिने खुला वातावरण, आँखैअघिल्तिर देखिने दर्जनौं हिमाल र राजधानीको ‘वाइड एंगल भ्यु’ यो ठाउँका विशेषता हुन्। अर्को विशेषता के भने, ८ करोड रुपैयाँ लागतमा बनेको यो ध्यानकेन्द्रको सबै खर्च आँखा चिकित्सक डा. रामप्रसाद पोखरेल र उनकी श्रीमती शोभना गुरुङ पोखरेलले लगाएका छन्। ५० लाख रुपैयाँ दरको बाह्र रोपनी जग्गामा झन्डै २ करोड रुपैयाँ लागतमा ध्यानकेन्द्रको निर्माण पूरा भएको हो। पोखरेल दम्पतीले आफ्ना आध्यात्मिक गुरु योगी पाइलटबाबाको नाममा सर्वसाधारणका लागि यो केन्द्र बनाएका हुन्। पाइलटबाबा आश्रम भनेर पनि चिनिने यो केन्द्रमा चल्ने झन्डै दुई साताव्यापी आध्यात्मिक कार्यक्रमका लागि यी ७२ वर्षीय योगी केही दिनमै काठमाडौं आउँदै छन्। उनले यो आश्रमको सुन्दर नाम जुराएका छन्- सोमनाथ ध्यान मन्दिर।
चार दिनको यज्ञ, पूजा र हवनपछि महाशिवरात्रिमा औपचारिक उद्घाटन हुने यो केन्द्रको सबै काम हेर्न भ्याइनभ्याई छ पोखरेल पत्नी ६४ वर्षीय शोभनालाई यतिखेर। उनी हिजोआज दिनभरिजसो त्यहीँ हुन्छिन्, केन्द्रलाई अन्तिम रूप दिन इन्जिनियर र अन्य कामदारलाई निर्देशन दिँदै।
भक्तपुर गुन्डु गाविस- ३ स्थित यो केन्द्रमा सयजना सँगै बसेर ध्यान गर्न मिल्ने कक्ष र डोरमेटरी बनिसकेको छ। विस्तारै डोरमेटरी थप्दै लैजाने योजना छ पोखरेल दम्पतीको।
यति ठूलो आध्यात्मिक केन्द्र एक्लै बनाउने हौसला कसरी आयो यो दम्पतीलाई?
यसका तीन जवाफ छन् :
पहिलो- शोभनाकै शब्दमा, उनलाई युवावस्थादेखि नै ‘६० वर्ष उमेरदेखि आफ्नो पूरै जीवन अध्यात्ममा लगाउँछु’ भन्ने लागेको थियो।
दोस्रो- सहरी जीवनबाट वाक्क भएका मानिसका लागि पोखरेल दम्पतीले उपत्यकामा एउटा ध्यानकेन्द्रको खाँचो देखेका थिए।
तेस्रो- सानैदेखि दर्शन, अध्यात्म र ध्यानबारे पढ्दै आएकी जिज्ञासु स्वभावकी शोभना जीवन्त योगीहरूको खोजीमा थिइन्। चार वर्षअघि चिकित्सक अनिल मिश्रले पोखरेल दम्पतीलाई पाइलट बाबासँग भेटाइदिए। तिनै बाबाको नाममा उनीहरूले काठमाडौंबासीका लागि एउटा आश्रम बनाउन चाहे।
वनस्पति विज्ञानमा स्नातकोत्तर गरेकी शोभनालाई भौतिक विज्ञानमा स्नातकोत्तर गरी भारतीय वायुसेनाको विङ कमान्डर पद सम्हालिसकेपछि ३५ वर्ष उमेरमा अध्यात्मको खोजीमा घरबार र जागिर छाडेर लागेका पाइलट बाबाको दर्शनले निकै आकर्षित गर्यो। सुक्ष्मको खोजी गर्दै वैज्ञानिकहरूले पदार्थको सबैभन्दा शक्तिशाली रूप अणु पत्ता लगाएका हुन् र प्रत्येक मानिसले आफूभित्र त्यही सुक्ष्मको खोजी गर्नुपर्छ भन्ने बाबाको दर्शनले शोभना निकै प्रभावित भइन्।
हृदयाघात भएर डा. पोखरेल गंगालाल हृदय केन्द्रमा मृत्युशैयामा छट्पटाइरहेका बेला पाइलट बाबाले दिएको आध्यात्मिक ऊर्जा यो दम्पतीका लागि उनलाई जीवनको सर्वकालिक गुरु थाप्ने एउटा महŒवपूर्ण कारण बन्यो। त्यसपछि त डा. पोखरेल र उनकी पत्नी शोभना अध्यात्म र साधनामा पाइलट बाबालाई पछ्याउँदै होमिए।
‘हामीलाई बाबाको दर्शन, खुलापना र आम मानिसजस्तै सरल जीवन बाँच्ने तरिकाले एकदमै प्रभावित गर्यो,’ सगरमाथादेखि धवलागिरीसम्मका हिमाल खुलेको एक दिन आइतबारे डाँडास्थित ध्यानकेन्द्र परिसरमा शोभनाले भनिन्।
कास्कीको घान्द्रुक गाउँका मुखियाकी छोरी शोभना र धनकुटाका पोखरेलबीच ४० वर्षअघि बेलायतमा भेट भएको थियो। त्यहीँदेखि सुरु भएको उनीहरूको सहयात्रा अहिलेसम्म उस्तै निर्वाध र गतिशील छ।
नेपाली युवतीसँग प्रेम र झन्डै भइसकेको बिहे, राजाहरूसँग मित्रता, मकवानपुर भैंसेमा नेपाली गुरुबाट दीक्षा र वर्षौंवर्ष कालिगण्डकीको तिरैतिर सत्यको खोजीमा बिताएका पाइलट बाबाको नेपाल नातालाई जोगाइराख्न उनको नाममा खुलेको ध्यानकेन्द्र्र प्रभावकारी हुने शोभनाको आशा छ।
‘उनले यहाँ आएर सिकाउने अध्यात्म र दर्शनले नेपाली युवालाई कुनै न कुनै रूपमा सकारात्मक प्रभाव पारे हामीले गरेको काम सार्थक हुनेछ,’ उनले भनिन्।
नेपाली युवा कुलत, अपराध र खराब मनोवृत्तिमा फस्दै गएको चिन्ता छ उनलाई। ‘यस्ता ध्यान केन्द्रबाट उनीहरूमा सकारात्मक भाव विकास गर्न सकिन्छ जसले समाजको विकासमा फाइदा पुग्छ,’ उनले आशा राखिन्।
ध्यानकेन्द्रलाई नेपाली शैलीको बनाउन पोखरेल दम्पतीले प्रशस्त रकम खर्चेका छन्। कलात्मक ढोका, झ्याल, गजुर, आँगनमा बिछ्याएको मार्बल, भित्ता र भुइँको शृंगारमा ठूलो रकम खर्च भयो। ‘हामीले बैंकबाट ऋण लिएरै भए पनि आगामी पुस्तालाई एउटा राम्रो उपहार दिनुपर्छ भन्ने सोचमा कुनै कसर नराखी यो केन्द्र बनाएका हौं, आखिर मरेर लानु के छ?’ अन्यत्र पनि सामाजिक काम गर्दै गरेकी शोभनाले भनिन्।
फागुन ५ गते सुरु हुने यज्ञ/हवन र महाशिवरात्रिमा उद्घाटनपछि यो केन्द्रमा नेपाली र विदेशीका लागि ध्यान शिविर आयोजना हुनेछ। नेपालीका लागि हुने तीनदिने ध्यान शिविरमा काठमाडौंबाटै सहभागी ल्याउने/लैजाने व्यवस्था हुनेछ। विदेशीका लागि हुने पाँचदिने ध्यानशिविर भने आवासीय हुनेछ।
‘अहिले पर्याप्त डोरमेटरी बनिसकेका छैनन्, विस्तारै यहाँ सबैका लागि आवासीय योग र ध्यान शिविर चलाउने योजना बनाएका छौं,’ केन्द्रको काममा सघाइरहेका पाइलटबाबाका अर्का शिष्य दीपक शर्माले भने।
उनका अनुसार दीर्घकालमा यो ‘सोमनाथ ध्यान मन्दिर’ लाई योग, ध्यान र अध्यात्मको साधना हुने क्षेत्रीय स्तरकै केन्द्र बनाउने योजनाअनुसार काम भइरहेको छ।
साभार:नागरिक न्युज